काठमाडौँ । ५० करोड रुपैयाँभन्दा बढी सरकारी बक्यौता नबुझाएर लाइसेन्स खारेजीको सङ्घारमा पुगेको इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले नियामक निकायको अनुमति बिना नै आक्रामक रूपमा विज्ञापन गरिरहेको पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेजीको प्रक्रिया अघि बढाएको अवस्थामा कम्पनीले ‘एक वर्षको शुल्कमा दुई वर्ष इन्टरनेट’ जस्ता अस्वाभाविक अफरमार्फत ग्राहक लोभ्याइरहेको हो।
अहिले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा क्लासिक टेकका दर्जनौँ विज्ञापनहरू सक्रिय छन्। कम्पनीले ५० एमबीपीएस इन्टरनेट दुई वर्षका लागि ४ हजार ४२४ रुपैयाँमा उपलब्ध गराउने दाबी गरेको छ, जुन मासिक ३१३ रुपैयाँ मात्र पर्न आउँछ। यस्तै, १०० एमबीपीएस र ३०० एमबीपीएसका प्याकेजहरूमा पनि भारी छुट र ४ वर्षसम्म निःशुल्क टेलिभिजनको लोभ देखाइएको छ।
प्राधिकरण भन्छ: “अफरको अनुमति लिइएको छैन”
दूरसञ्चार नियमावली अनुसार कुनै पनि इन्टरनेट सेवा प्रदायकले नयाँ प्याकेज वा अफर सार्वजनिक गर्नुअघि प्राधिकरणबाट अनिवार्य स्वीकृति लिनुपर्छ। तर, क्लासिक टेकले अहिले बजारमा ल्याएका कुनै पनि अफरको अनुमति नलिएको प्राधिकरणका सहायक प्रवक्ता प्रदीप पौड्यालले स्पष्ट पारेका छन्।
“दररेट स्वीकृत गराएर मात्र बिक्री गर्न पाइन्छ, तर क्लासिक टेकले अहिले गरिरहेको विज्ञापनका लागि कुनै अनुमति लिएको छैन,” पौड्यालले भने। उनले थपे, “लाइसेन्स खारेजीको प्रक्रिया बोर्डमा विचाराधीन छ। नेतृत्व नभएका कारण निर्णय हुन बाँकी भए पनि मापदण्ड मिचेर काम गर्न पाइँदैन।”
उपभोक्ता मारमा पर्ने खतरा
लाइसेन्स खारेजीको विषय विचाराधीन रहेको बेला दीर्घकालीन प्याकेज (१ देखि २ वर्ष) खरिद गर्दा भोलि कम्पनी बन्द भएमा ग्राहकको लगानी डुब्ने जोखिम उच्च देखिएको छ। डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलका अनुसार प्राधिकरणको स्वीकृति बिना सेवा बिक्री गर्नु गम्भीर कानुनी उल्लङ्घन हो। यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याउने र उपभोक्ताको अधिकार हनन हुने उनले बताए।
केही दिनअघि मात्रै क्लासिक टेकको इन्टरनेट जडान गरेको ९ दिनमै सेवा अवरुद्ध भएपछि पीडित ग्राहकले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी समेत दिएका थिए।
पछिल्लो १० दिनमा ११ विज्ञापन
मे महिनाको १० दिनभित्र मात्रै कम्पनीले ११ वटा नयाँ विज्ञापन बुस्ट गरेको तथ्याङ्कले देखाउँछ। अप्रिलमा ९ वटा विज्ञापन गरेको कम्पनीले लाइसेन्स खारेजीको दबाब बढेसँगै विज्ञापनको सङ्ख्यामा उल्लेख्य वृद्धि गरेको हो।
कम्पनीको दाबी: “हामीमाथि अन्याय भयो”
यस विषयमा क्लासिक टेकका प्रबन्ध निर्देशक प्रमेश खरेलले अन्य सेवा प्रदायकले पनि स्वीकृति बिना नै प्याकेज बेचिरहेको दाबी गरे। “लाइसेन्स नवीकरणको सवालमा हामीमाथि अन्याय भएको छ। रोयल्टी र बक्यौताको बहानामा नवीकरण रोकिएको छ, जसका लागि हामीले सर्वोच्च अदालतमा रिट समेत दायर गरेका छौँ,” खरेलले भने। उनले बक्यौता रकम किस्ताबन्दीमा तिर्न तयार रहेको समेत उल्लेख गरे।