रुकुम (पश्चिम), असार १२। सामाजिक सञ्जाल फेसबुकमा “Jiban Oli” नामक पेजमार्फत मधेशी मूलका जस्तो देखिने एक व्यक्तिलाई दुर्व्यवहार गरिएको भिडियो सामग्री सार्वजनिक गरी सम्प्रदायिक घृणा वा द्वेष फैलाउने तथा जात, जाति वा सम्प्रदायबीचको सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रुकुम (पश्चिम) बाँफिकोट गाउँपालिका–३ निवासी २८ वर्षीय डिल्लीबहादुर ओली, सोही स्थानका ३१ वर्षीय राजन के.सी. तथा कपिलवस्तु कृष्णनगर नगरपालिका–४ शिरसवा स्थायी घर भई हाल रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–१ सल्लेमा पाउरोटी उद्योग सञ्चालन गर्दै आएका ३१ वर्षीय रघुबिर कोरी रहेका छन्।
उनीहरूलाई बिहीबार (२०८३ असार १२) अपराह्न करिब ४:४५ बजे मुसिकोट नगरपालिका–३ माछिमीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूमाथि सामाजिक सञ्जालमार्फत सम्प्रदायिक घृणा वा द्वेष फैलाउने तथा जातीय सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।