काठमाडौ बिबिसी: प्रेस काउन्सिल नेपालले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनबारे बीबीसी वर्ल्ड सर्भिसबाट बिहीवार सार्वजनिक भएको वृत्तचित्रबारे सिर्जित विवाद आफ्नो “स्पष्ट क्षेत्राधिकारभित्र पर्ने नदेखिएको” हुँदा आवश्यक प्रक्रिया अगाडि बढाउन नेपाल सरकार र निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको जनाएको छ।

बीबीसी वर्ल्ड सर्भिसबाट सार्वजनिक सो भिडिओलाई विभिन्न नेपाली सञ्चारमाध्यमहरूले प्रयोग गरेकोमा त्यसबाट पनि निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उजुरी परेको निर्वाचन आयोगका अधिकारीहरूले बताएका थिए।
प्रतिनिधिसभा पुग्न प्रत्यक्ष प्रतिस्पर्धामा रहेका उम्मेदवारबारे हामीलाई जे थाहा छ।
के नेपालको जस्तो निर्वाचन प्रणालीमा एउटै दलको बहुमत आउन सम्भव छ।
काउन्सिलले के भन्यो
शुक्रवार साँझ काउन्सिलका सूचना अधिकारी रामशरण बोहोराले जारी गरेको विज्ञप्तिमा काउन्सिलले उक्त वृत्तचित्रबारे आफ्नो ध्यानाकर्षण भएको बताएको छ।
विज्ञप्तिमा भनिएको छ, “पत्रकार आचारसंहिता, २०७३ को दफा ११ को अधीनमा रही बनेको ‘पत्रकार आचारसंहिता उजुरी र कारबाहीसम्बन्धी कार्यविधि, २०७५ को दफा ५(ठ) मा ‘विदेशबाट सञ्चालित अनलाइन वा अन्य माध्यमविरुद्ध उजुरी परी कारबाही चलेको अवस्थामा नेपाली नागरिक भएको भए त्यहाँस्थित नेपाली दूतावास र विदेशी नागरिक भइसकेको भए कूटनीतिक माध्यमबाट समन्वय गर्नुपर्दछ’ भन्ने व्यवस्था रहेको छ भने निर्वाचन आचारसंहिता, २०८२ को दफा २५ मा ‘सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण’ तोकिएको छ।
“सोही आचारसंहिताको परिभाषा खण्डको (ञ) मा ‘सञ्चार प्रतिष्ठान’ भन्नाले सञ्चारसम्बन्धी कुनै व्यवसाय वा सेवा सञ्चालन गर्ने उद्देश्यले प्रचलित कानुनबमोजिम स्थापना वा दर्ता भएको सरकारी वा सामुदायिक वा निजी सञ्चार माध्यम वा सङ्गठित संस्था सम्झनुपर्दछ’ भन्ने उल्लेख छ।
“त्यसैगरी निर्वाचन आचारसंहिता, २०८२ को दफा २५(१)(ट) मा ‘नेपालको निर्वाचन, राजनीतिक दल र उम्मेदवारलाई नकारात्मक असर पुग्ने गरी विदेशी सञ्चार माध्यमबाट प्रकाशित वा प्रसारित सामग्री पुनः प्रकाशन वा प्रसारण गर्न नहुने’ व्यवस्था रहेको छ।”
प्रेस काउन्सिल नेपालले आफ्नो वेबसाइट र सामाजिक सञ्जालमा राखेको विज्ञप्तिमा थप भनेको छ, “पछिल्लो समय कतिपय नेपाली सञ्चार माध्यमबाट बीबीसी विश्व सेवाले सम्प्रेषण गरेको वृत्तचित्रलाई त्यसको विश्वसनीयताको परीक्षण नै नगरी आफ्नो धारणासहित विश्लेषण गर्दै सामग्री सम्प्रेषण भइरहेको देखिएको छ।”
काउन्सिलले आचारसंहिताविरुद्धका सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई कारबाहीको प्रक्रिया अगाडि बढाइनेसमेत चेतावनी दिएको छ।