काठमाडौँ । आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले मतदाताहरूले पालना गर्नुपर्ने विशेष आचारसंहिता जारी गरेको छ। मतदान केन्द्रमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न र मतदानको गोपनीयता कायम राख्न आयोगले कडा निर्देशनहरू अघि सारेको हो।
आयोगका अनुसार मतदानका दिन मतदाताहरूले निम्न आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्नेछ:
१. राजनीतिक पहिचान झल्किने पोशाक र सामग्रीमा रोकमतदान गर्न जाँदा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित कपडा, टि-सर्ट, ज्याकेट, गम्छा, टोपी, मास्क, लोगो वा ब्याज लगाउन पाइने छैन। साथै, यस्ता चिह्न अंकित झोला बोक्न समेत निषेध गरिएको छ।
२. झुटो अफवाह र भ्रामक समाचार फैलाउन नहुनेमतदातालाई मतदान गर्न जानबाट रोक्ने वा अन्यौलमा पार्ने उद्देश्यले कुनै पनि प्रकारका झुटा अफवाह वा भ्रामक समाचार फैलाउन पाइने छैन। कसैलाई मतदानको अधिकारबाट वञ्चित गराउने मनसायले अवरोध पुर्याउनु कानुनी अपराध मानिनेछ।
३. डिजिटल माध्यम र सामाजिक सञ्जालको प्रयोगमा कडाइएसएमएस (SMS), सामाजिक सञ्जाल वा अन्य कुनै पनि विद्युतीय माध्यमबाट कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा तथ्यहीन सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न पाइने छैन। विशेष गरी मौन अवधिमा यस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
४. ट्याटु र शारीरिक प्रदर्शनमा बन्देजशरीरको कुनै पनि भागमा उम्मेदवारको फोटो, दलको चिह्न वा झण्डा अंकित ट्याटु प्रदर्शन गरेर मतदान केन्द्रमा प्रवेश गर्न पाइने छैन। यस्तो कार्यलाई निर्वाचन आचारसंहिताको उल्लंघन मानिनेछ।
५. निषेधित वस्तुहरू: मोबाइल, क्यामेरा र प्रज्वलनशील पदार्थमतदान केन्द्रभित्र मोबाइल फोन, क्यामेरा, लाइटर, सलाई जस्ता प्रज्वलनशील ठोस वा तरल पदार्थ लैजान सख्त मनाही गरिएको छ। मतदानको गोपनीयता भङ्ग हुने गरी तस्बिर खिच्ने कार्य गरेमा तत्काल कारबाही गरिने आयोगले जनाएको छ।
६. लागुपदार्थ र मादक पदार्थ सेवनमा प्रतिबन्धमतदान गर्न जाँदा कुनै पनि प्रकारको नसालु वा मादक पदार्थ सेवन गर्न पाइने छैन। मद्यपान गरेर मतदान केन्द्रमा आएको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिई मतदानको अधिकारबाट वञ्चित गर्न सक्नेछन्।
आयोगको अपिल: “निर्वाचन लोकतन्त्रको महापर्व हो। आफ्नो मताधिकारको प्रयोग गर्दा आचारसंहिताको पालना गरी एक सचेत नागरिकको परिचय दिनुहुन निर्वाचन आयोग सम्पूर्ण मतदाताहरूमा हार्दिक अनुरोध गर्दछ।”