ताप्लेजुङ, भदौ २४ — नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्रमा यो वर्ष असामान्य रूपमा भदौमै बाक्लो हिमपात भएको छ।
स्थानीय पर्यटन व्यवसायीका अनुसार फक्ताङलुङ गाउँपालिका अन्तर्गतको लोनाक क्षेत्रमा सोमबारदेखि बाक्लो हिउँ पर्न थालेको हो। समुद्री सतहदेखि ४,७८० मिटर उचाइमा अवस्थित लोनाक क्षेत्रमा सञ्चालन हुँदै आएको होटलका सञ्चालक तथा गाउँपालिका कार्यपालिका सदस्य तेन्जिङ सेराप शेर्पाले हालसालैको मौसम परिवर्तनका कारण हिमपात भएको जानकारी दिनुभयो।
शेर्पाका अनुसार पछिल्लो एक सातादेखि कञ्चनजङ्घा क्षेत्रमा सामान्यदेखि बाक्लो हिमपात भइरहेकाले पर्यटकहरू प्रभावित हुनसक्ने देखिएको छ। “सामान्यतया असोज–कात्तिक मुख्य सिजन हो, तर यसपालि भदौमै हिमपात भएकाले भ्रमणमा कठिनाइ हुन सक्छ,” उहाँले भन्नुभयो।
कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले पनि मौसम निरन्तर बदली भएको पुष्टि गर्नुभयो। “आकाश धमिलो छ, हल्का वर्षा भइरहेको छ र घाम नलाग्दा मौसम खुलेको छैन,” उहाँले जानकारी दिनुभयो।
यद्यपि, सेप्टेम्बरदेखि विदेशी पर्यटकको आगमन सुरु भइसकेको छ। हालसम्म कञ्चनजङ्घा क्षेत्रको भ्रमणका लागि आठ जना विदेशी पर्यटक आइसकेको पर्यटन व्यवसायी शेर्पाले बताउनुभयो। तीमध्ये फ्रान्सका चार, अमेरिका र इटालीबाट दुई-दुई जना रहेका छन्। साथै, सात हजार ७१० मिटर अग्लो कुम्भकर्ण हिमाल आरोहणका लागि पनि फ्रान्सबाट दुई जना पर्यटक आएका छन्।
यससँगै स्वदेशी पर्यटकको पनि आगमन बढ्न थालेको छ। विशेष गरी फक्ताङलुङ दर्शनका लागि धार्मिक पर्यटक बाक्लो रूपमा आउने गरेको शेर्पाको भनाइ छ।
हिमपातका कारण पदमार्गमा यात्रा कठिन बन्न सक्ने भएकाले स्थानीय पर्यटन व्यवसायी र संरक्षण क्षेत्र कार्यालयले पर्यटकलाई सतर्क रहन सुझाव दिएका छन्।