काठमाडौँ । रोजगारीका लागि दक्षिण कोरिया जान चाहने नेपाली कामदारलाई लक्षित गर्दै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत विद्यमान नियममा परिवर्तन गर्न दक्षिण कोरियाले अस्वीकार गरेको छ।
वैदेशिक रोजगार विभाग र सोलस्थित नेपाली दूतावासका अनुसार भाषा परीक्षा उत्तीर्ण गरेपछि त्यसको मान्यता अवधि दुई वर्षमै सीमित रहने स्पष्ट जवाफ कोरियाली पक्षले नेपाललाई दिएको हो। उक्त म्यादमा कुनै प्रकारको थप लचिलोपन दिन नसकिने कोरियाको धारणा रहेको बताइएको छ।

यस निर्णयसँगै भाषा परीक्षा उत्तीर्ण गरेर लामो समयदेखि कोरिया जाने प्रतीक्षामा रहेका धेरै नेपाली कामदारहरू प्रभावित हुने देखिएको छ। आवश्यक प्रक्रिया समयमै पूरा हुन नसक्दा उनीहरूको कोरिया जान पाउने म्याद सकिने जोखिम बढेको सम्बन्धित अधिकारीहरूले जनाएका छन्।
ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया नेपाली कामदारका लागि प्रमुख गन्तव्य मुलुकमध्ये एक भए पनि प्रक्रिया ढिलाइ र सीमित म्यादका कारण कामदारहरू समस्यामा पर्दै आएका छन्।